यही हप्ताबाट कोरोना विरुद्धको खोप प्रयोगमा आउने

सोमबार, १५ मंसिर २०७७

लन्डन — अब कोरोना विरुद्धको खोप यही हप्ताबाट प्रयोगमा ल्याइने भएको छ । यो खवर बेलायतको हो ।

अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने पछि वितरण गरिने विवरण सार्वजनिक भएका छन् ।

एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन् । फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ । गत साता बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा खोप उपलब्ध गराउन एमएचआरएलाई भनिसकेको बताएका थिए । यद्यपि उक्त निकायले कहिलेसम्म अनुमति दिन्छ निश्चित छैन । बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

उक्त खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।