माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले देशमा अस्थिरता छाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड एक आपसमा लिखित रुपमै आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपाको किचलो उत्कर्षमा पुगेको हो । यसले देशलाई अस्थिर बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएपछि नेकपामा नयाँ खालको बहस सुरु भएको छ । नेकपा दोश्रो तहका नेताहरु नेतृत्व लिन तयार रहेको बताइरहेका वेलामा केही नेताहरुले माधव नेपाललाई अध्यक्ष बनाएर अगाडी बढ्न सुझाव दिएका छन् ।
यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।
सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गरेका छन् ।
विश्वस्त स्रोतका अनुसार नेकपाभित्रका प्रभावशाली दोस्रो पुस्ताका नेताहरु ओलीलाई प्रधानमन्त्रीमा पूरा कार्यकाल काम गर्न दिएर अध्यक्षमा माधवकुमार नेपाललाई ल्याउने विकल्पमा समेत छलफल चलेको छ । त्यस्तो अवस्थामा नेपालको पनि व्यवस्थापन भई सहमति बन्ने सम्भावना बढ्ने उनीहरुको बुझाई छ । नेकपाभित्र दुर्घटना टार्न पनि कुनै न कुनै राजनीतिक लेनदेन आवश्यक रहेको बुझाई ओली पक्षको रहेको बुझिएको छ । उनीहरु त्यसतर्फ पनि छलफलमा बढेका छन् ।