मंसिर २९ गतेदेखि ६० लाख कित्ता आईपीओ आउँदै
काठमाडौँ – मंसिर २९ गतेदेखि ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निश्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आर्इपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आर्इपीओ छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अधारभुत पक्ष मध्यम जोखिम रहेको संकेत गर्दछ ।