आजको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले के भने ?

शनिबार, २० मंसिर २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठकले भोली आइतबार स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ ।

सो बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । विनाप्रसंग अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।

नेताहरुले स्थायी समितिमा जाने धारणा राखेपछि अध्यक्ष ओलीले भने, ‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ बैठकको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’

दुबै प्रतिवेदन स्थायी कमिटीमा जाने र बाहिर आएजस्तो ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने भन्ने भनाइप्रति संकेत गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको फेस गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति इतर समूहको छ ।