नेकपाको स्थायी समिति बैठक दिउँसो बस्दै

आइतबार, २१ मंसिर २०७७

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तालिका रहेको छ ।

यस बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखेको छुट्टा छुट्टै राजनीतिक प्रस्ताव स्थायी समितिमा पेश हुने कार्यक्रम रहेको छ ।

यसअघि सचिवालय बैठकमा दुवै अध्यक्षले बेग्ला बेग्लै राजनीतिक प्रस्ताव राखेका छन् । सो प्रस्तावका बारेमा सचिवालयमा निक्र्यौल नभएपछि स्थायी समितिमा छलफलका लागि लगिन लागिएको छ ।

हिजो शनिबार बसेको सचिवालय बैठकमा सहमति नभएपछि उक्त प्रस्ताव स्थायी समितिमा नै लगेर छलफल गर्ने निर्णय स्थायी समितिका बहुमत सदस्यहरुले गरेका थिए ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयका विभिन्न बैठकहरुमा दुवै प्रस्ताव फिर्ता लिएर सहमतिको प्रस्ताव अघि लैजान प्रस्ताव गर्दै आएका थिए ।

तर कार्यकारी अध्यक्ष दाहालले उक्त प्रस्तावका बारेमा अस्वीकार गरेपछि दाहाल पक्षको अग्रसरतामा बहुमत सचिवालय सदस्यहरुको निर्णयले स्थायी समितिमा छलफल गर्ने निर्णय भए बमोजिम आज ती प्रस्तावहरुका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।