हराएका शिक्षकको शव भेटियो, कसले गर्यो हत्या ?

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं – सोमबार विहानदेखि हराएका एक शिक्षकको शव भेटिएको छ । मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकको राजेन्द्र श्रेष्ठलाई शव घाँटी काटेर हत्या गरेको अवस्थामा भेटिएको छ ।

यस विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबावु कार्कीले बताए ।

‘घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिआईजी कार्कीले भने– ‘घटनास्थल टाढा भएकाले प्रहरी पुग्न समय लाग्यो, थप अनुसन्धान हुँदैछ ।’ स्थानीयले शुरुमा आवाज आएको सुनेको भनेर प्रहरीलाई खबर गरे । तर, गोली चलेको पुष्टि हुन नसकेको डिआईजी कार्कीले बताएका छन् ।

शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा मागेको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । नेकपाले भने यस विषयमा केहशी प्रतिक्रिया दिएको छैन ।

पूर्व माओवादी समर्थक श्रेष्ठ सबैलाई सहयोग गर्ने स्वभावका थिए । सो क्षेत्रमा अरुलाई डर देखाउन विप्लव समूहले उनको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।