भर्खरै एआईजीमा बढुवा भएका विश्वराजलाई झट्का
काठमाडौँ – भर्खरै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई झट्का लागेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजी बढुवाको कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएपछि पोखरेललाई झट्का लागेको हो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।
पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।
उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले गरेको यो निर्णय कार्यान्वयन नगर्न समितिले सरकारलाई निर्देशन दिएको हो । विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले यस्तो निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठको भनाइ छ ।
समितिका सभापति श्रेष्ठले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) गरेर मात्र एआईजी बढुवा गर्नुपर्ने बताइन् ।
समितिमा सहभागि भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्रिपरिषद्मा ५ जना डीआईजीको दरबन्दी थप्ने प्रस्ताव लगेपनि एआईजीको भने नलगिएको बताए ।