आज २ घण्टा विद्युत कटौती हुने

शनिबार, २७ मंसिर २०७७

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले शनिबार दुई घण्टा विद्युत कटौती हुने जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दिउसो दुई घण्टा विद्युत् कटौती हुने भएको हो ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले मध्याह्न १२ देखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

उक्त सबस्टेशनबाट विस्तारित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ। प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ।

प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ।