घुससहित पक्राउ परेका वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको रोहिणी गाउँपालिका(२ का वडाध्यक्ष सरोजकुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले घुससहित पक्राउ परेको रकम २० हजार दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनी घुससहित पक्राउ परेका थिए।
अनुदान स्वरुप प्राप्त रकम प्रदान गर्न सहजीकरण गरिदिने भनी उनले पैसा उठाएपछि अख्तियारको टोलीले स्टिङ अप्रेसन गरेको थियो। अख्तियारको टोलीले वडाध्यक्ष पाण्डेलाई रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान गरी मुद्दा दायर गरेको हो। अख्तियारले घुस दिने सहकारीका प्रमुख श्यामवचन यादवलाई पनि सोही बराबर बिगो कायम गरेर मुद्दा दायर गरेको छ।
अनुसन्धानको सिलसिलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ५ बाट कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत रोहिणी गाउँपालिकालाई विनियोजन भएको रकममध्ये बालीको उत्पादन र उत्पादकत्व वृद्धिको लागि बिउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमका लागि नियमानुसार छनौट भएको थियो।
रोहिणी गाउँपालिका(२ मा रहेको विराट कृषि सहकारी संस्था लिमिटेडलाई २ लाख र अनुदान उपलव्ध गराउन सहजीकरण गरी दिएबापत कमिसनको रूपमा ४५ हजार माग गरेको सूचना अख्तियारमा पुगेको थियो। सेवाग्राहीलाई त्रास देखाई पाण्डेले भ्रष्टाचार निवारण ऐन विपरितको काम गरेकाले ऐन बमोजिक कैद र सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले पक्राउ परेको रकम बराबर बिगो कायम हुुनु पर्ने माग गरेको छ।