जगतको मृत्यु पछि विप्लवको विज्ञप्ति, छानविनको माग
काठमाडौँ – नेपाल कम्युस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारको नियन्त्रणमै रहेका कार्यकर्ताको मृत्यु बारे छानविन गर्न मानव अधिकारवादीहरू समक्ष आह्वान गरेका छन् । सरकारको नियन्त्रणमा रहेका नागरिकलाई उपचारबाट बन्चित गराएर मृत्युको मुखमा पुर्याएको भन्दै छानविका लागि आग्रह गरेका हुन् ।
प्रहरीको हिरासतमा नेकपा म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को मृत्यु भएपछि उक्त घटनाको छानबिन गर्न आग्रह गरेका हुन् । महासचिव विप्लवले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएकाले नेकपा र राजबन्दीप्रतिको राज्यको वास्तविक चरित्र र व्यवहार छर्लङ्ग भएको पनि बताएका छन् ।
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ ।’
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘कमरेड जगेन्द्र पुन ‘जगत’ को मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद् र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछौँ । साथै यस घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ‘
