ओली अनुपस्थित भएपछि नेकपा स्थायी समिति बैठक प्रभावित, दुई नेता राष्ट्रपति गुहार्न शीतलनिवा पुगे
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रभावित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली सहभागी नभइदिएपछि बैठक प्रभावित भएको हो ।
यसैबीच बैठक प्रभावितकै बेला नेकपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको पुष्टि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ ।
यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ ।