लगानीकर्तालाई खुशीको खबर, अब पैसा नहुनेले पनि शेयर किन्न पाउन
काठमाडौं – लगानीकर्तालाई खुशीको खबर छ । अब पेसा नभएपनि शेयर खरिद गर्न सकिने भएको छ । बैंकहरुले अहिले खरिद गरेको शेयरको पैसा तिर्नका लागि पनि कर्जा लगानी गर्न थालेपछि पैसा नहुँदा पनि शेयर किन्न सकिने भएको हो ।
यसअघि डिम्याटमा भएको शेयर फ्रिज गरेपछि मात्र कर्जा दिने बैंकहरुले अहिले भने खरिद गरेको शेयरको पैसा तिर्न नै कर्जा दिने र सोही शेयर धितोमा राख्ने गरेका छन्।
यसको सुरुवात करिब ३ महिना पहिले नै कुमारी बैंकले गरेको थियो। बैंकले करिब ३ महिना अघि शेयर धितो कर्जाको योजना ल्याएको थियो जसमा शेयर कर्जा लिनको लागि पहिले नै शेयर धितो राख्नु नपर्ने व्यवस्था थियो।
बरु बैंकले शेयर खरिद गरेपछि उक्त शेयरको पैसा भुक्तानी गर्न नै कर्जा दिने जनाएको थियो। यसलाई अहिले अन्य बैंकहरुले पनि अबलम्बन गर्न थालेका छन्।
अहिले बैंकहरुले शेयर बजारमा लगानी गर्न अनेक उपाए अबलम्बन गर्दै आएका छन्। लगानी बढाउन बैंकहरुले शेयर नभएपनि शेयर खरिद गर्न नै कर्जा लगानी गर्न थालेका हुन्।
अहिले लगानीकर्ताले खरिद गरेको शेयरको पैसा आफैले तिरिदिने र त्यो किनेको शेयरलाई नै धितोमा राख्ने गरेको एक बैंकरले बताए। ‘लगानीकर्ताले खरिद गरेको शेयरको ६० प्रतिशत वा ५० प्रतिशत जति आँउछ ब्रोकरलाई हामीले नै तिरिदिन्छौ। बाँकी चाँहि लगानीकर्ता आफैले तिर्नुपर्छ,’ ती बैंकरले भने ‘एक दुई दिनमा शेयर आँउछ अनि हामीले त्यसलाई रोक्का गर्ने गरेका छौ।’
यसले लगानीकर्तालाई भने फाइदा पुगेको छ। बैंकहरुको यो व्यवस्थाले अहिले पैसा नहुने लगानीकर्ताले पनि शेयर बजारमा लगानी गरेका छन्।