चन्द्रागिरि हिल्सको आइपिओमा आवेदन दिने प्रभावित क्षेत्रका सबैले पाउने

बिहिबार, २ पौस २०७७

काठमाडौं – चन्द्रागिरि हिल्सले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने प्रभावित क्षेत्रका बासिन्दा सबैले पाउने भएका छन्। उनीहरुले न्युनतम पनि ६० कित्तादेखि अधिकतम ७० कित्तासम्म पाउने भएका छन्।

कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरका लागि ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले प्रभावितका लागि तीन लाख ६ हजार ८१९ कित्ता जारी गरेको थियो। प्रभावित क्षेत्रका बासिन्दाबाट ५।४ गुणा बढी आवेदन परेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ ९साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साबिक महादेवस्थान गाविसका वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मात्र० एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका ९ र १० ९साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु० र इन्द्रसरोवर गाउँपालिका ५ ९साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु० मा स्थायी बसोबास गर्ने नागरिकका लागि जारी गरेको थियो। उनीहरुका लागि गत मंसिर १७ गतेदेखि पुस एक गतेसम्म बिक्री खुला गरिएको थियो।

कम्पनीले सर्वसाधारण शेयरधनी समूहको १२ प्रतिशत शेयर बिक्री गर्न लागेको हो। सुरुमा सर्वसाधारण समूहतर्फको २ प्रतिशत प्रभावित र दोस्रो चरणमा १० प्रतिशत आम सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ। पहिलो चरणमा प्रभावित शेयरका लागि बढी आवेदन परेसँगै अब छिट्टै बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने छ। कम्पनीले सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता जारी गर्नेछ।