प्रचण्डको असन्तुष्टिपछि संवैधानिक परिषद्को बैठक स्थगित

बिहिबार, २ पौस २०७७

काठमाडौं – संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरेका हुन्।

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको भोलिपल्टै बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए।

तर, बैठक बोलाएको जानकारी पाउना साथ अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले नजाने बताइसकेका थिए।