कांग्रेसभित्र छाँया सरकारको विरोध, मन्त्रीहरुलाई हटाइने
काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले घोषणा गरेको छाया सरकारको पार्टी भित्रै आलोचना भएको छ । सरकारको निगरानीका लागि गठन गरेको ‘छाँया सरकार’माथि पार्टीभित्रै आलोचना एको हो ।
‘सरकार भन्दा छाँया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाँया सरकार हेरफेरको माग राखेका छन् । संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको बैठकमा केही सांसदहरुले छाँया सरकारकै आलोचना गरेका थिए ।
‘देशमा प्रतिपक्षी पनि छ र ?’ भन्दै आम नागरिकले प्रश्न गर्न थालेकाले सांसद दिव्यमणि राजभण्डारीले छाँया सरकार हेरफेर गर्नुपर्ने बताए । उनको मागमा अन्य सांसदहरुले पनि समर्थन जनाए । बैठकपछि नेता राजभण्डारीले भने, ‘बैठकमा छाँया सरकारको कुरा उठ्यो । त्यसपछि मैले छाँया सरकारमा हुनेहरु जिम्मेवार हुनुपर्यो । काम गर्न सक्नुपर्यो । काम गर्न नसके छोड्नुपर्यो भनेको हुँ ।’
कांग्रेसले एउटा मन्त्रालय तीन जनासम्म सांसदलाई जिम्मा दिएर ६ जेठ ०७६ मा २५ सदस्यीय छाँया सरकार घोषणा गरेको थियो । तर, छाँया मन्त्रीहरुले हालसम्म के गरे, प्रगति के छ भनेर पार्टीमा समिक्षा हुन नसकेको नेता राजभण्डारीले बताए । उनको प्रश्न छ, ‘छाँया मन्त्री भएर संसदमा कम जाने, विदेश घुमेर बस्ने, अनि अरु माथि मात्रै प्रश्न उठाएर हुन्छ ?’
कांग्रेस नेता प्रकाशमान सिंहले ‘कुन कुन छाँया मन्त्रीले के के गर्नुभयो त्यो सेयर गर्नुपर्यो र आवश्यक परे जिम्मेवारी हेरफर गर्नुपर्यो ।’
बैठकमा सहभागी नेताहरुका अनुसार छाँया सरकारको काम कारबाहीमाथि प्रश्न उठेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले छाँया मन्त्रीहरुको कामको समीक्षा हुने बताएका छन् । ‘छलफल गर्दै गरौं, छाँया मन्त्रीको रिपोर्ट नै मागेर छलफल गर्न पनि सकिन्छ’ खाँडको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
