प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगे

शनिबार, ४ पौस २०७७

काठमाडौं –सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादले नयाँ मोड लिएपछि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच हिजो पनि बालुवाटारमा छलफल भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने बुधबारको सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि आज उनलाई भे‍ट्न ओली आफै खुमलटार पुगेका हुन् ।

पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

हिजै प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरि ओलीमाथि दबाव बढाएका थिए ।

उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएका थिए ।