पेटमा गर्भ रहेको कारण भतिजले गरे काकीको हत्या

शनिबार, ४ पौस २०७७

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको कारण भएको प्रहरीले जनाएको छ । धनमायाको हत्यामा भतिज सागर भुजेल र भाञ्जा विकास भुजेलको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै २० वर्षीय सागर भुजेलको योजनामा ३४ वर्षीया धनमायाको हत्या भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार सागरको नातामा काकी पर्ने धनमायासँग अवैध सम्बन्ध रहेको थियो । ‘सागरले नातामा भानिज भाई पर्ने १९ वर्षिय विकास भुजेलसँग एकमहिना अगाडीदेखि सल्लाह गरेर काकीको हत्या गरेको देखिन्छ ।’ प्रहरी नायव उपरिक्षक थापाले भने ।

‘गाउँमा धनमायाको पेटमा गर्भ रहेको भन्ने हल्ला चलेपछि सागरले उनलाई ठेगान लगाउन हत्या गरेको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । ‘काकीले पेट बोकेको हल्ला चलेपछि विकाससँग एक महिनादेखि सल्लाह गरेर घट्ना हुने अघिल्लो दिन रात सँगै सुतेर भोलिपल्ट विहान हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ प्रहरी नायब निरिक्षक थापाले भने ।

सशस्त्र प्रहरीमा भर्ना हुन भन्दै पोखरामा मेडिकल परीक्षणका लागि गएका सागरलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरी बेसीशहर ल्याएको जनाएको छ । विकासलाई घरबाटै प्रहरीले पक्राउ गरेको प्रनाउ थापाले बताए ।