सकियो काँग्रेस र जसपा बैठक, दुई बुँदे सहमति
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी जनता समाजवादी पार्टी (जसपा)बीचको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले दुई बुँढे सहमती गरेको छ ।
काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।
यस्तै उनले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ । आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भयो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा प्रस्तुत हुन्छौँ ।’
यस्तै काँग्रेस नेता रमेश लेखकले पनि शुक्रबार काँग्रेस संसदीय दल कार्यसमिति बैठकबाट भएका निर्णयकको वरिपरी छलफल भएको बताए । उनका अनुसार संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग छलफलको जोड थियो ।
सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा पनि छलफल भएको उनले बताए । छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।