संसद् विघटनको सिफारिस संविधान विपरीत

आइतबार, ५ पौस २०७७

काठमाडौं– नेपालको संविधान २०७२ मा बहुमतको सरकार हुँदाहुँदै संसद् विघटन गर्नसक्ने व्यवस्था गरेको छैन ।

संविधानको धारा ७६ को उपधारा ७ अनुसार मुलुकमा अल्पमतको सरकार रहेको र सो सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा मात्रै संसद् विघटन गर्नसक्ने व्यवस्था गरेको छ ।

संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्ने, यदि कसैको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याउने व्यक्ति प्रधानमन्त्री बन्ने, त्यसरी पनि कोही प्रधानमन्त्ती नियुक्त हुन नसकेमा वा नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा र प्रतिनिधिसभाको अर्को कुनै सदस्यले विश्वासको मत प्राप्त आधार प्रस्तुत गरेमा उसलाई प्रधानमन्त्री बनाउने व्यवस्था छ ।

यसरी पनि कुनै व्यक्ति प्रधानमन्त्री हुन नसक्ने अवस्था भए मात्रै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नसक्ने व्यवस्था संविधानको धारा ७७ को उपधारा ७ मा छ ।
संसद् विघटनको अन्य कुनै पनि व्यवस्था संविधानमा छैन ।