काँग्रेस सभापति देउवाले ओलीलाई साथ दिने, रामचन्द्रको दाउ प्रधानमन्त्री बन्ने

बुधबार, ८ पौस २०७७

काठमाडौं – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने भएको हो । पार्टीभित्रको आन्तरिक कलहलाई देखाएर प्रधामन्त्री ओलीले गरेको संसद विघटनलाई स्वागत गर्दै आगामी निर्वाचनमा सहभागी हुने तयारीमा काँग्रेसको छ ।

यो समयमा निर्वाचनमा जाँदा आफ्नो पार्टीको बहुमत आउने आँकलन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनमा सहभागी हुने संकेत गरेका छन् । सभापति देउवाले मंगलवारको बैठकमा जिम्मेवार बन्दै संयमता अपनाएर अघि बढ्नुपर्ने सुझाव पेश गरेका थिए । निर्वाचनमा सहभागी हुने आसयको कुरा उठाएपछि देउवाको विरोध गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी कदमको विरोध गर्दै सडकमा उत्रनुपर्ने भनाई राखे। बैठकमा केन्द्रीय सदस्यहर महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले पनि भनाई पेश गरेका छन्।

यी दुई शीर्ष नेताले भनाई राखेपछि काँग्रेस पनि सत्तारुढ दलको दुई खेमामा बाँडेको आरोप लागेको छ। यद्यपि केन्द्रीय समितिमा सबै सदस्यहरुले धारणा राखेपछि मात्र काँग्रेसको निष्कर्ष आउनेछ। अहिले भने काँग्रेस वृत्तमा के चर्चा छ भने सभापति देउवाले ओलीलाई साथ दिइरहेका छन् । आइजीपी हुन नपाएका आफ्ना खास मान्छे जयबहादुर चन्दलाई देउवाले अख्तियारमा आयुक्त सिफारिस गरेको आशंका काँग्रेस केन्द्रीय सदस्यहरुले गरेका हुन्। उक्त विषयलाई आफूहरुले केन्द्रीय समितिमा उठाउने नेता डा शेखर कोइराला बताउँछन्।

यसो त महाधिवेशन गर्न नसकेको अवस्थामा देउवाको साथ ओलीलाई सधैं नै रहिरहेको अर्का एक केन्द्रीय सदस्यले बताए। संवैधानिक परिषद्को कतिपय नाम देउवाकै सिफारिसमा भएको बताइए पनि यसबारे प्रष्ट हुन सकेको छैन। संसद विघटनमा समेत देउवाको साथ रहेको काँग्रेस नेताहरुकै आरोप छ। यसबारे वरिष्ठ नेता पौडेलसँग प्रचण्ड नेपाल पक्षले केही दिन अघि माधव निवास पुग्दा आशंका गरेका थिए।

कोभिड कहरका कारण देउवाले काँग्रेसको महाधिवेशन गर्न सकेका छैनन्। फागुनमा गर्ने भनिएको महाधिवेशनको म्याद गुज्रिसकेको छ। नयाँ मितिबारे काँग्रेसमा कुनै छलफल भएको छैन। यस्तै अलमलको अवस्थामा नयाँ चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने देउवा पक्षका नेताहरुको भनाई छ। यसको जस देउवा लिन चाहन्छन्। जसका लागि महाधिवेशन गरिरहनु परेन।

यता पौडेल पक्ष भने प्रचण्ड र माधव नेपाललाई साथ दिने तरखरमा छन्। सडक संघर्ष गरी संसद ब्युतिए सरकारमा जान पाउने आश पौडेल पक्षले गरेको देउवा पक्षको आरोप छ। यसका लागि पदको बार्गेनिङ हुन थालेको एक नेताले बताए। यसैका कारण पनि अहिले प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाए पनि कुनै ठोस निर्णय गर्न सकेको छैन।

मंगलवारबाट शुरु भएको काँग्रेस केन्द्रीय समिति बुधवार पनि जारी रहने र अझै केही दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।