पूर्वभारतीय राजदूतले खोलीदिए ओलीको राष्ट्रवादको मुकुण्डो, कुर्सी जोगाउन हदैसम्मको राष्ट्रघात गरेको खुलासा
काठमाडौं – नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले ओली भारत परस्त भएकाले नेपालको संसद् भंग भएको बताएका छन् । उनले चिनियाहरुको समर्थन पाएका ओलीलाई चीनले पार्टी एकता जोगाइ राख्न चाहेको र प्रधानमन्त्रीले आफ्नो पद जोगाउन चाहेकाले संसद विघटन भएको बताएका हुन ।
‘चिनियाँहरूले ओलीलाई सहयोग गरिरहेको वेलासम्म सबै ठीक थियो । तर, चीनले ओलीको नेतृत्वको निरन्तरतामा भन्दा नेकपा एक रहने विषयमा बढी चासो दिएको महसुस भएपछि ओलीको रणनीति बदलियो,’ राजदूत रायले लेखेका छन् । ओलीले त्यसपछि भारतसँग सम्पर्क बढाएको उनको भनाई छ ।
मंगलबार द इकोनोमिक टाइम्समा प्रकाशित लेखमा पूर्वराजदूत रायले नेकपा मिलाउने चीनको प्रयास असफल भएको निष्कर्ष दिएका छन् ।
नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले चीनको प्रभाव घटेको भन्दै भारतलाई फाइदा भएको टिप्पणी पनि गरिसकेका छन् । संसद विघटन भएसँगै नेपालमा नेपालमा चिनको प्रधाव घटेको भारतीहरुको भनाई छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’ भारतीय जनता पार्टीका नेता र भारतीय विदेश मन्त्रालयसहित कर्मचारीतन्त्रको भनाई छ ।
भारतका विज्ञहरूको अर्को समूहले भने ओलीको निर्णयले हिमालय क्षेत्रमा अस्थिरताको बिउ रोपेको तर्क गरेको छ । ‘हिमालयमा राजनीतिक अस्थिरता भारतको पक्षमा हुँदैन । रणनीतिक संवेदनशीलता नबुझ्नेहरूले ओलीको कदमलाई सही रूपमा लिन सक्लान्, तर यो सहज परिस्थिति होइन,’ रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक एमपिआइडिएसएका नेपालविज्ञ डा. निहार नायकले भने, ‘भारतका लागि पनि सहज अवस्थाचाहिँ होइन ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक उथलपुथलबारे अन्तर्राष्ट्रिय समुदाय मौन छ । विगतका ठूला राजनीतिक घटनाक्रममा प्रतिक्रिया जनाउने अमेरिका, युरोपेली संघ मात्र होइन, छिमेकी भारत र चीन पनि मौन छन् ।
चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेकी छिन् । तर, बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालय वा नेपालस्थित चिनियाँ राजदूतावासले पछिल्लो घटनाक्रमबारे बोलेका छैनन् ।
अनौपचारिक संवादमा चिनियाँ अधिकारीले यो परिस्थिति अपेक्षाकृत नभएको बताए । ‘संसद् भंग गर्ने प्रधानमन्त्रीको संकेत थियो, त्यो राजनीतिक कार्ड मात्रै होला भन्ने सोचेका थियौँ, यो हदसम्म परिस्थिति पुग्ला भन्ने थिएन,’ चिनियाँ अधिकारीले भन्छन्, ‘यो कदमले प्रधानमन्त्रीलाई मात्र होइन, विभाजित भएपछि संगठित हुने नेकपाका दुवै समूहलाई भविष्यमा ठूलै हानि हुने सम्भावना छ ।’
यसरी भारतीयको स्वार्थ पुरा गर्नका लागि ओलीले नेपालको संसद भंग गराएर ठूलो राष्ट्रघात गरेका छन् । भारतले नेपालमा संधै अस्थिरता चाहेको र उनीहरुको चाहाना पुरा भएको विज्ञहरुको भनाई छ ।