ओली गुटको कार्यकारी अध्यक्ष बन्दै बादल
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भएको छ । सोमबार केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले छुट्टा छुट्दै केन्द्रीय कमिटी बैठक राखेर औपचारिक रुपमा नेकपा विभाजनको सुरुवात भएको हो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै भएको राजनीतिक उथलपुथलसँगै नेकपा विभाजित बनेको हो । अहिलेसम्म पार्टी विभाजनको घोषणा नभएपनि दुबै पक्षको गतिविधिले पार्टी विभाजनमा गइसकेको र अब निर्वाचन आयोगबाट कसले आधिकारिकता पाउने र निर्वाचन चिन्ह कसले पाउने भन्नेमै केन्द्रीत रहेको छ ।
उसो त प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गरिसकेको छ भने प्रतिनिधिसभा पुनर्स्थापना समेत गरेर नयाँ सरकार बनाउने दावी गरेको छ । भलै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ भने सो रिट अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी छैनन् । अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिरै लाग्ने बताइएपनि बादल भने ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोतले बताएको छ ।
संसद विघटन भएसँगै प्रधानमन्त्री ओली र बादलबीच पटक–पटक भेटवार्ता भएको छ भने सो भेटका क्रममा आफू प्रचण्ड–माधव पक्षतिर नरहेको बादलले ओलीलाई बताउँदै आएका छन् ।
स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् । ओली पक्षमा बादललाई कार्यकारी अध्यक्ष बनाउनेसम्मको अफर गरिएको छ ।
विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ ।