ओली सरकारमा ९ जना मन्त्री थपिए, २ जनाको मन्त्रीपद चट

शुक्रबार, १० पौस २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

यता, ओलीले मन्त्रीहरुको जिम्मेवारीपनि हेरफेर गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आएका छन् । त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मात्र मन्त्री बनेका गणेश ठगुन्ना आएका छन् ।

यस्तै कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्थामा रहेकी पद्‍मा अर्याललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ ।

यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।