मुख्यमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव : यी प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसले साथ दिने

आइतबार, १२ पौस २०७७

काठमाडौँ – नेकपाको केन्द्र विवाद यति बेला प्रदेशमा देखिन थालेको छ। दुई प्रदेशमा मुख्यमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव भएसंगै यी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ। अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्नो रणनिति बनाउन थालेको छ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ। भावी मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव छ।

बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध शुक्रबार नै अविश्वास प्रस्ताव दर्ता भइसकेको थियो। भावी मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारिएको छ।

प्रदेशस्तरमा कांग्रेसको पार्टीगत संरचना छैन। त्यसैले प्रदेश पार्टी समिति पनि कांग्रेस केन्द्रीय समितिले नै हेर्दै आएको छ।

कांग्रेसभित्र नेकपाको एउटै समूहलाई प्रदेशहरूमा साथ दिन नहुनेमा मत छ। प्रदेशको अवस्था हेरेर नेकपाका भिन्नभिन्न समूहलाई साथ दिनुपर्नेमा कांग्रेसका शीर्ष नेताहरू छन्।

‘प्रदेश नम्बर १ मा ओली समूह मुख्यमन्त्री शेरधन राई० लाई नै समर्थन गर्ने तयारीमा पार्टी छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध हुने गरी प्रचण्ड(माधव नेपाल समूहलाई साथ दिने पक्षमा पार्टी देखिन्छ।’

ती नेताका अनुसार कुन प्रदेशमा कसलाई सहयोग गर्ने भन्ने निर्णय भने केन्द्रीय समितिबाटै हुनेछ। यी दुबै प्रदेशमा कांग्रेस सांसद निर्णायक छन्।

प्रदेश नम्बर १ मा ९३ सिट छ। तीमध्ये नेकपाका ६७ सांसद हुन्। मुख्यमन्त्री राईका पक्षमा जम्मा २२ जना सांसद छन्। यहाँ कांग्रेसका २१ सांसद छन्। सरकार बनाउन यहाँ ४७ जना चाहिन्छ।

यस्तै बागमती प्रदेशमा ११० सिट छ। नेकपाका ८० सांसद रहेकोमा ओली पक्षमा ३४ जना मात्रै छन्। यहाँ पनि कांग्रेस निर्णायक छ। कांग्रेसका २२ जना सांसद छन्। नयाँ सरकार बनाउन कांग्रेस आवश्यक छ।