ओलीको त्यो कदम जस्ले ५ पूर्वप्रधानमन्त्रीलाई ल्यायो सडकमा
काठमाडौं – संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको छ । उक्त रिटको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । गत शुक्रबारबाट उक्त रिटको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । सोही दिन नेकपाको बहुमत पक्ष अर्थात प्रचण्ड–माधव पक्षले सडक आन्दोलनका कार्यक्रम औपचारिक रुपमा सुरु गरेको थियो ।
सोही दिन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ सडकमा आएर आन्दोलनको सुरुवात गरिसकेका छन् । उनीहरुले ओलीको उक्त कदम नसच्चिएसम्म आन्दोलन नरोकिने संकेत गरिसकेका छन् । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा। बाबुराम भट्टराई पनि आइतबारबाट सडक आन्दोलनमा सरिक भएका छन् ।
भट्टराई नेतृत्वको जसपाले आइतबार काठमाडौमा गरेको विरोध प्रदर्शनमा उल्लेख्य जनसहभागिता रहेको थियो ।
त्यसैगरी प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओली कदमको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।
शनिबार सभापति देउवाले पार्टीका निर्णयअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबारका लागि प्रदर्शन गर्न आह्वान गरेका हुन् ।
उनले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरितको कार्यविरुद्ध काँग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएकोसमेत प्रष्टयाएका छन् । प्रचण्ड, नेपाल, खनाल, भट्राई र देउवा चारै जना पूर्वप्रधानमन्त्री यसरी सडकमा आएपनि ओलीले भने आफ्नो कदम सच्याउनुको साटो थप कडा कदम चाल्ने चेतावनी दिँदै आएका छन् । सडकमा भएको विरोध र जनचाहाना विपरित बरु ओली ज्ञानेन्द्र शैलीमा मन्त्रिमण्डल विस्तार गर्दै जनताले नपत्याएकाहरुलाई समेत समेटेर आफ्नो इरादा पुरा गर्ने प्रयासमा लागेको कतिपयले टिप्पणी गर्न थालेका छन् ।