सूर्य चिह्न अर्कैले खोस्यो, ओली – प्रचण्ड हेरेको हेर्यौ !
काठमाडौं – भखैरै विभाजित भएका नेकपाका दुवै खेमाले सूर्य चिह्नमा दाबी गरिरहेका छन् । तर केही महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टी नेकपा (एमाले)ले सूर्य आफ्नो चुनाव चिह्न भएको दाबी गरेको छ ।
एमाले अध्यक्ष सन्ध्या तिवारीले सामाजिक सञ्जालमार्फ उक्त चुनाव चिन्ह आफ्नो पार्टीको भएको दाबी गरेकी हुन् । यद्यपि, सो पार्टीलाई निर्वाचन आयोगले ‘उदाउँदो सूर्य’ चुनाव चिह्न दिएको छ ।
दाहाल–नेपाल र ओली दुई पक्षले आफू नै आधिकारिक नेकपा भएको दाबीका साथ सूर्य चिह्न आफैँले पाउनुपर्ने माग गरिरहेका छन् ।
नेकपाभित्र मतभेद चुलिएपछि तिवारीको नेतृत्वमा गत जेठमा एमाले दल निर्वाचन आयोगमा दर्ता भएको थियो । तिवारीले सूर्य आफ्नो चुनाव चिह्न भएकाले भ्रममा नपर्न आग्रह गरेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘सूर्य नेकपा एमालेको चुनाव चिह्न हो । कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु । जनता को बहुदलीय जनवाद ! जिन्दावाद !’