विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त
काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि फायर खोलेको थियो । त्यसपछि विप्लवका कार्यकर्ताले पनि जवाफी फायरिङ गरेका थिए ।
विप्लव कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार विप्लवका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो । प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट विप्लवका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।
गोली चलाउँदै ३ जना नेता जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।