सवारी दुर्घटनामा परी ८ जना ज्यान गयो
काठमाडौं – धादिङ, मोरङ, झापा, कास्की, धनुषा र सिरहामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
धादिङ थाक्रे गाउँपालिका ३ ईजारा मोडस्थित सडकमा प्रदेश ३–०१–००३ क ४४०९ नम्बरको टिपर अनियन्त्रित भई बाटोबाट करिब ८० मिटर तल खसेर मंगलवार दिउँसो दुर्घटना हुँदा सह–चालक सोही ठाउँ बस्ने २० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ केराबारी गाउँपालिका ६ बुद्धचोकस्थित सडकमा को १ त ७५११ नम्बरको रोकिरहेको ट्याक्टर आफै गुडेर किच्दा सोही ठाउँ बस्ने जितेन तामाङको ३ वर्षीय छोरा पासाङ तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै झापा कन्काई नगरपालिका ८ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको बेनेली कम्पनीको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ७ बस्ने ६५ वर्षीया चन्दा देबी हलवाईको मंगलवार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी कास्की पोखरा महानगरपालिका ३० पावर हाउस बरालथरस्थित सडकमा ना.३ च ७३९८ नम्बरको जिपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मंगलवार बेलुका मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी कास्की पोखरा महानगरपालिका ६ लेकसाईडस्थित सडकमा बागमती प्रदेश ०२–०१५ प ८१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका –९ नयाँबजार बस्ने काठमाडौं घर भएका २५ वर्षीय सन्जिब केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ ।
त्यस्तै धनुषा धनुषाधाम नगरपालिका(९ मालटोलस्थित सडकमा ना। ४ च ९३१७ नम्बरको बलेरो गाडी, बीआर ०६ जीडी ८८५९ नम्बरको ट्रक र को–१ ख २३३८ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा ट्याङकर चालक मोरङ बिराटनगर महानगरपालिका ४ बस्ने ३५ वर्षीय अर्जुन कुमार मण्डल र ट्रक चालक भारत बिहार झखरा बस्ने २० वर्षीय रंगिला कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकरका सह–चालकलाई थप उपचारको लागि मोडेल अस्पताल लालगढ र ट्रक सह९चालकलाई बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिरहा लहान नगरपालिका–१३ शिवचोकस्थित सडकमा स।१ त ७८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका २४ मलहनवा बस्ने २५ वर्षीय विन्दी सदायको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।