शक्ति प्रदर्शनस्वरूप आज नेकपा ओली समूहको नारायणहिटी दरबार अगाडि जनसभा
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शनस्वरूप आज जनसभा गर्दैछ। पार्टीको बागमती प्रदेश संगठन कमिटीले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभा गर्ने भएको हो।
जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सरकारका विभिन्न मन्त्रीदेखि पार्टीका शीर्षस्थ अन्य नेताहरूले सम्बोधन गर्नेछन्।
बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा जनसभाका संयोजक आनन्द पोखरेलले जनसभा भव्य हुने बताए।
उनले निर्धारित समय १२ बजे नै जनसभा हुने प्रष्ट पारे। पोखरेलले प्रचण्ड समूहले जनसभालाई भाँड्दै कमजोर बनाउन आमहड्तालको आयोजना गरेको, जनताको बीचमा आतंक सिर्जना गरेको र जनतालाई दुःख दिने काम गरेको पनि टिप्पणी गरे।
तैपनि, जनसभा व्यवस्थित र सुरक्षित हुने उनले विश्वास दिलाएका छन्।
“जनसभाको सुरक्षा व्यवस्थापनमा २१ सय स्वयंसेवक खटिन्छन् र जनसभा सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउँछु”,हामीले मेडिकल टिम र एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं।”
जनसभाको ठीक एक दिन अगाडि हिजो नेकपाको प्रचण्ड समूहले प्रतिगमनको विरोध गर्न भन्दै आमहड्ताल गरेको थियो।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली समूहले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभाको आयोजना गरेको हो ।