विद्यार्थी बोकेको बस दुर्घटना

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं – रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा स्काउट विद्यार्थी बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार शुक्रबारदेखि मन्थलीमा संचालन हुने तेश्रो मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा भाग लिनका लागि सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थीहरु सदरमुकाम मन्थली आउने क्रममा उक्त दुर्घटना भएको हो ।

श्रेष्ठका अनुसार तीव्र गतिमा मन्थली जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिन खोज्दा भित्तामा ठोकिएर पल्टिएको थियो । बसमा ५३ जना सवार थिए ।