बीजेपीका संस्थापक नेता कंग्रेस पार्टीमा प्रवेश
एजेन्सी– भारतीय सत्तारुढ भारतीय जनता पार्टी ‘बीजेपी’का संस्थापक सदस्य तथा पूर्व विदेशमन्त्री जसवन्त सिंहको स–परिवार भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन्। जसवन्त सिहंका छोरा मानवेन्द्र सिंहलाई बुधबार कंग्रेस अध्यक्ष राहुल गान्धीले पार्टी प्रवेश गराएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कंग्रेस आईका अध्यक्ष गान्धीको उपस्थितिमा सिंह, उनका छोरा मानवेन्द्र सिंह, उनकी बुहारी चित्रा सिंह, सिंहका अर्का छोरा भुपेन्द्र सिंह र जसवन्त पत्नी शीतल कवरले कंग्रेसको सदस्यता लिएका हुन्। सो अवसरमा कंग्रेसका महासचिव अशोक गहलोत र राजस्थान कांग्रेसका प्रदेश अध्यक्ष सचिन पायलट पनि उपस्थित थिए।
२०१९ को आम निर्वाचन नजिकिँदा जसवन्तले कंग्रेस प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कंग्रेसका सचिव हरीश चौधरीले सिंह परिवारको कांग्रेस प्रवेशपछि कांग्रेस थप बलियो भएको प्रतिक्रिया दिएका छन्। राजस्थानका ‘राजपूत’हरु बिजेपीको भोट बैंकका रुपमा चिनिन्छन्।
आगामी निर्वाचनमा कांग्रेसले राजपूतलाई कांग्रेसमा जोड्ने प्रयासमा लागेको छ। यता, बीजेपीले राजपूतलाई देखाउँदै कांग्रेसको परम्परागत भोट बैंक ‘जाट’ समुदायलाई आफ्नोतर्फ आकर्षित गर्ने प्रयास गरिरहेको बताइएको छ।
राजपूत नेताहरुकै सल्लाहमा कांग्रेसले राजपूत समुदायलाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरेको भारतीय सञ्चार माध्यमले बताएका छन्। जसवन्त सिंह अघिल्लो संसदीय चुनावमा बीजेपीबाट सिट नपाएपछि स्वतन्त्ररुपमा चुनाव लडेका थिए। तर, उनी निर्वाचनमा भने पराजित भएका थिए।