अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा बन्धु चन्द निर्वाचित
काठमाडौँ – अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले बन्धु चन्दको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म सम्मेलन चलेको थियो । सम्मेलनबाट अखिल नेपाल महिला संघ क्रान्तिकारीको उपाध्यक्षमा धीरेन्द्रा उपाध्याय, महासचिवमा राजकुमारी शाही, सचिवमा उषा घर्तिमगर, कोषाध्यक्षमा कमला लिम्बु निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यमा भएको सम्मेलनले महिलासम्बन्धी विभिन्न कार्ययोजना पनि निर्माण गरेको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आस्था, जनजागरण मञ्चका देवकला, पार्टीका पूर्व केन्द्रीय सदस्य सन्तोषी विक, सामना जनसांस्कृतिक परिवारका सरल लगायतले बधाई मन्तव्य दिएका थिए ।