ओलीसँग छलफल गर्न माधव नेपाल धुम्बाराहीमा

सोमबार, २ चैत्र २०७७

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाल एमाले कार्यालय धुम्बाराही पुगेका छन्

केहीबेरपछि एमालेको ओली समूह र नेपाल समूहबीच छलफल हुँदैछ। फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पहिलोपटक दुवै पक्षका नेताहरुबीच औपचारिक छलफल हुन लागेको हो। यसअघि दुवै समूहले आ–आफ्नो पक्षको भेला र बैठक गर्दै आएका थिए।

एमाले वरिष्ठ नेता नेपालसँगै नेताहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र प्रदीप ज्ञवाली पनि धुम्बाराही पुगेका छन्। यसअघि सुवासचन्द्र नेम्वाङ धुम्बाराही पुगिसकेका थिए। प्रधानमन्त्री ओली भने पुगिसकेका छैनन्।

प्रधानमन्त्रीसहितका नेताहरू पुग्ने भएपछि एमाले कार्यालय र त्यस वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।