मोटोपन घटाउने अहिले सम्मकै सबैभन्दा प्रभावकारी उपाय
काठमाडौं– सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ ।
मोटोपन कम गर्न खानपान
अन्न समूहमा पर्ने खाद्यान्नहरूमा कार्बोहाइड्रेड पाइने हुँदा यिनीहरूले शरीरलाई काम गर्न चाहिने आवश्यक शक्ति प्रदान गर्छ । ब्राउन राइस, गहुँ, जौ, मकै, फापर, ओट्स, कर्नफ्लेक्स, कोदो, जुनेलोहरू अन्न समूहमा पर्छन् । त्यसैले दैनिक रूपमा शरीरलाई चाहिने क्यालोरीअनुसार अन्न लिनुपर्छ ।
दूध तथा दूधजन्य परिकार : दूध तथा दूधजन्य पदार्थहरू क्याल्सियम, फोस्फरस, म्याग्नेसियमजस्ता खनिज पदार्थका राम्रा स्रोत हुन् । शरीर वृद्धि विकासका लागि अत्यावश्यक प्रोटिनका मुख्य स्रोत पनि हुन् । तौल घटाउन चाहनेले चिल्लो हटाइएको दही, मोही, लस्सीलाई नियमित रूपमा सेवन गर्नु फाइदाजनक हुन्छ ।
गेडागुडी तथा दलहन : गेडागुडी तथा दलहन प्रोटिनका मुख्य स्रोत हुन् । चना, मटर, भटमास, राजमा, बोडी, रहर दाल, मुसुरो, मस्याङ, गहत, मुंग, क्वाँटीका परिकार बनाएर खान सकिन्छ । साथै गेडागुडी तथा दलहनको सुप बनाएर दैनिक दुई–तीन ग्लास पिएमा तौल घटाउन सहयोग गर्छ ।
ताजा सागसब्जी : साग तथा अन्य तरकारीमा चिल्लो तथा चिनीको संयोजन अति कम हुने हुँदा तौल घटाउन चाहनेहरूले प्रशस्त मात्रामा दैनिक खानुपर्छ ।
सुप : चिसो मौसममा प्रशस्त सुप पिउँदा शरीरलाई न्यानो राख्न र चिसोबाट जोगाउन सहयोग गर्छ । मसरुम, चिकेन, बोंनम्यारो, मिक्स भेजिटेबल सुप घरमै बनाएर खानुपर्छ ।
माछा, मासु र अन्डा : माछा तथा मासु प्रोटिनका उत्कृष्ट स्रोत हुन् । यिनीहरूमा कार्बोहाइड्रेट लुप्त हुने भएकाले खान सकिन्छ । सेतो मासु, माछा तथा अन्डा नियमित रूपमा खान सकिन्छ । अस्वाभिक मात्रामा शरीरको आवश्यकता भन्दा धेरै भने खानु हुँदैन ।
।
फलफूल : ताजा फलफूल, सूक्ष्म खनिज पदार्थ, भिटामिन मिनरल्स तथा एन्टि अक्सिडेन्टका उत्तम स्रोत हुन् । तौल घटाउन चाहनेले फ्रुट जुसभन्दा पनि सिंगै फलफूल राम्रोसँग चपाएर खानु प्रभावकारी हुन्छ । फलफूल राम्रोसँग सफा गरेर सिंगै अथवा चपाएर खान मिल्ने टुक्रा पारेर चपाएर खाने गर्नुपर्छ ।
पानी : वयस्क मानिसलाई दैनिक तीन–चार लिटर पानी आवश्यक पर्छ । पर्याप्त मात्रामा पानी पिएमा खाएको खाना राम्रोसँग पचाउन तथा पोषण तत्त्व सोसेर स्वस्थ रहन सहयोग गर्छ । तौल घटाउन चाहने मानिसले बिहान–बेलुकाको खाना खानुभन्दा आधा घण्टा अघि पानी पिउनुपर्छ ।
खान नहुने कुरा
मैदा तथा मैदाजन्य परिकार ,पास्ता, चाउचाउ, चाउमिन, बेकरी उत्पादन, डोनट, बिस्कुट, पेस्ट्री, ह्वाइट ब्रेड, केक तथा अन्य बजारिया प्रशोधित परिकारहरू खानु हुँदैन् ।
जंक फुड खानु हुँदैन ।
मिठाई तथा गुलिया परिकारहरू जस्तै– जेरी, रसबरी, लड्डु, बर्फी, क्यान्डी, चकलेट, पेडा तथा अन्य मैदाजन्य परिकार, प्रसोधित खानेकुरा तथा मिठाईहरूमा मोनोस्याचुराइड, सुक्रोज, मोनो सोडियम ग्लुटामेट, ट्रान्सफ्याट, सेचुरेटेड फ्याट, स्याकाराइन, विभिन्न किसिमका कलरिङ तथा प्रिजभेटिभ्स प्रयोग गरिएका हुन्छन् । यस्ता खानेकुरामा फाइबर तथा पोषण तत्वको कमी हुने भएकाले शरीरमा नकारात्मक असर पार्छन् । त्यसैले यस्ता खानेकुरा नखानु बेस हुन्छ ।
मासुजन्य परिकार जस्तै भुटन, पोलेको–तारेको मासु, रक्ति तथा भित्री अङ्ग मुटु, कलेजो, छाला, बोसोमा कोलेस्ट्रोल अधिक मात्रामा हुन्छ । साथै सेकुवा, पोलेको–तारेको मासुमा क्यान्सर गराउने तत्त्व आर्कलामाइड, बेन्जो पाइरिनहरू हुने हुँदा यस्ता चिज नखानु नै स्वास्थ्यका हिसाबले फाइदाजनक हुन्छ्र ।