५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु

बिहिबार, ५ चैत्र २०७७

मकवानपुरगढी – ५ दिने आवासीय मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा उक्त प्रदेशकै संचार रजिस्ट्रार कार्यालयको समन्वयमा तालिम सुरु भएको हो ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. मानबहादुर बिकले एक कार्यक्रमका बीच मकवानपुर जिल्लाको मकवानपुरगढी भ्यु एण्ड रिसोर्टमा तालिमको सुरुवात गरेका हुन । बागमती प्रदेश सरकारका प्रमुख सचिव बिकले फोटो खिचेर कार्यक्रम उद्घाटन गर्दै आफूले पनि पत्रकारीतामा नौलो अनुभव हासिल गरेको बताए ।

उपस्थित प्रशिक्षार्थी पत्रकारहरुलाई आफ्नो पत्रकारिता यात्राको अनुभव बाढ्दै प्रबिधि प्रयोगको उपयुक्त ज्ञान नहुदा समस्या भएको बताए । मागेर ल्याएको टेप रेकर्डर प्रयोग गर्न नजान्दा बल्ल बल्ल लिएको अन्तर्वार्ता समेत काम नलागेर आफै सम्झिएर लेख्नुपरेको उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका संचार रजिस्ट्रार रेवतीप्रासाद सापकोटाले सबैलाई मकवानपुरगढीमा स्वागत गर्दै आजका पत्रकार लोकल नभई ग्लोबल हुनुपर्ने बताए । विश्वव्यापिकरणको यो युगमा गुणस्तरीय सूचना सामग्री बनाउनका लागि दक्ष तथा सक्षम पत्रकार तयार पार्नका लागि तालिमको आयोजना गरिएको उनको भनाई थियो ।

तालिममा लामो समय पत्रकारिताको अनभव बटुलेका पत्रकार उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिनेछन भने बिभिन्न १० जिल्लाका पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी छन्।