लकडाउनबारे सरकारले गर्यो यस्तो निर्णय
काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् ।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए। उनले भने , ‘हामी आशङ्काबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ भन्ने सरकारको सोच हो ।
अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सुरु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुरु पनि गर्छौँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमा नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त हुँदैन ।’