कसरी छानियो १६५ वटा सडकको योजना ?

शनिबार, २१ चैत्र २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा सडकहरूको एकैपटक घोषणा गर्दै उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट सबै निर्वाचन क्षेत्रमा एउटा–एउटा सडक पर्ने गरी उद्घाटन गरेका हुन ।

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकहरू उक्त योजनामा समेटिएका छन् । निश्चित मापदण्डमा परेका अनि सांसदहरूले छानेका सडकहरूलाई सडक विभागको सिफारिसमा विस्तृत योजनामा पारिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गले बताए ।

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल–सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्ने जस्ता विषय परेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले बताए । यसरी निर्माण गरिने सडकको लम्बाई २ हजार २ सय १० किलोमिटर हुने उनको भनाई छ।

मन्त्री नेम्वाङ्गका अनुसार यी सडक निर्माणका निम्ति करिब ५७ अर्ब १० करोड रुपैयाँ खर्च हुनेछ। प्रत्येक सडक दुई लेनको र कालोपत्रे गरिने उनको भनाई छ ।

यी सबै सडक आगामी तीन आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने छन । एउटा निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाहरूमा ६० करोड रुपैयाँ छुट्ट्याइनेछ भने एउटा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा ५० करोड रुपैयाँ छुट्ट्याइनेछ। दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाहरूमा ४० करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्र अनि तीन वा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाहरूमा २५ करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्रको दरमा छुट्ट्याइने जनाइएको छ। काठमाण्डू जिल्लाको हकमा प्रति निर्वाचन क्षेत्र २० करोड रुपैयाँ छुट्ट्याइने पनि उल्लेख गरिएको छ।