प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै
काठमाडौं– प्रदेश २ को प्रदेशसभा बैठक आज बोलाएको छ। प्रदेश सभाको बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाएको हो।
करिब ६ महिनापछि बस्न लागेको प्रदेशसभा बैठकमा भने सत्तारूढ दल जनता समाजवादी पार्टी नेताविहीन भएर उपस्थित हुन लागेको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले दलको नेता चयन गर्न नसकेका कारण यस्तो स्थिति सृजना भएको हो।
संसदीय दलको समायोजनाका लागि निर्वाचन आयोग तथा प्रदेशसभा समेतले पटकरपटक ताकेता गर्दा समेत पार्टीले कुनै चासो नलिएको जसपाका एक प्रदेशसभा सदस्यले बताए।
आज बस्ने प्रदेशसभा बैठकमा सभामुखले प्रदेश प्रमुखले पठाएको प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यसका, साथै प्रदेशसभा प्रतिनिधित्व गर्ने दलको नेताहरूले सम्बोधन गर्ने कार्यसूची समेत रहेको नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए।