एकै दिन ५३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु

बिहिबार, २ बैशाख २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो। चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो।

आज थपिएका सङ्क्रमित मध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन्। गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७ सङ्क्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ।