सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

सोमबार, १२ कार्तिक २०७५

कार्तिक १२, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संशोधन गर्ने सहमतिपश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हालसम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठलगत्तै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने जानकारी दिए  ।

अन्तरसंवादमा बोल्दै कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश नम्बर २ सरकारले मात्र होइन, यस्ता ऐन अब हरेक प्रदेशले ल्याउनु पर्छ ।’

संघीयता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघीयतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए  ।