कोरोना संक्रमण उच्च भएपछि सीसीएमसीको बैठक बोलाइयो
काठमाडौं – पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।
सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोनाभाइरसको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।
कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यही रूप जारी रहेमा धेरै गार्हो हुनसक्ने भएकाले अक्सिनका थप सिलिण्डर मगाउने काम भइरहेको उनले बताए ।