राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी, विप्लवका अधिकांश नेता कार्यकर्ता रिहा हुने

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यादेश मार्फत राजनीतिक मुद्धा लाखेर कारागारमा रहेका विभिन्न राजनीतिक दलसँग सम्बन्धीत नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्नका लागि फौजदारी कसुर तथा फौजदारी कसुर सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २0७८ पनि ल्याइएको छ । दोश्रो नम्बरमा रहेको यो अध्यादेश मार्फत गम्भीर प्रकृतिका हत्या, हिंसा र बलात्कार बाहेकका मुद्धामा पक्राउ परी अदालतले पुर्पक्षका लागि कारागार राखेका नेता तथा कार्यकर्ता रिहा हुने छन् ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १ सय ४६ जना नेता कार्यकर्ता झुटा मुद्धा खेपेर अहिले पनि विभिन्न कारागारमा बन्दी जीवन विताइरहेका छन् । उनीहरु सहित राजपाका केही नेताहरुलाई रिहा गर्न पनि यो अध्यादेश समाबेश गरिएको बालुवाटार श्रोतले जनाएको छ ।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।