जसपा बैठक सकियो, ओली सरकार जोगिने संकेत

आइतबार, २६ बैशाख २०७८

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक सम्पन्न भएको छ । संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई निवासमा सम्पन्न बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई छोडिदिएको छ ।

पार्टीले ह्वीप जारी नगरी विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वत्रन्त्र छोड्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने स्पष्ट पारेका थिए । देउवासँगको भेटमा पनि ठाकुर र महतोले ओलीलाई विश्वासको मत नदिने तर त्यसपछि बन्ने सरकारलाई पनि समर्थन गर्न नसकिने जवाफ दिएका थिए । तर, शिर्ष नेताको बैठकले पक्ष विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् । त्यसका लागि ओलीले जसपाको महन्त ठाकुर र राजेन्द्र महतो निकटका सांसदहरुलाई खरिद गरेर बहुमत पुर्याउन सक्ने सम्भावन बलियो बनेको छ ।

तर, एमालेकै माधवकुमार नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपालपक्षका सांसदहरुले राजीनामा दिए जसपाका सबै सांसदले ओलीलाई विश्वासको मत दिएपनि संख्या पुग्दैन । जसपामा हाल ३२ जना सांसद छन् । त्यसमध्ये पनि बाबुराम भट्टराई र उपेन्द्र यादवसमूह नयाँ गठबन्धनको पक्षमा छन् । विपक्षीमा रहेका कांग्रेस, माओवादी विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।