कसरी सफल बन्ने ? एक पटक अवश्य पढ्नुहोस्
काठमाडौं – जीवनसधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ ।
सकारात्मक तथा सफल मानिसको वरपर बस्नुहोस्
भनाइ नै छ, संगत गुणको फल । असफल तथा निराश मानिसको साथमा धेरै समय बिताउँदा हाम्रो भित्री विचार पनि उनीहरूको विचारले प्रभावित भइरहेको हुन्छ । यो अत्यन्तै जोखिमयुक्त समय हुन सक्छ । हामी पनि त्यो हूलको मानिसजस्तै हुन सकिने सम्भावना बढी हुन्छ । त्योभन्दा बरु एक्लै बस्नु र आफ्नो काम गर्दै जानुमै राम्रो हुन्छ ।
तपाईंले आफ्नो बारेमा सोच्ने समय त पाउनुहुन्छ । सकारात्मक मानिस तथा सफल मानिसहरूसँग समय बिताउँदा पनि उनीहरूको विचारले हाम्रो विचारलाई प्रभावित गरिरहेको हुन्छ, तर यो सुखद हुन्छ । यी विचारहरू शक्तिशाली हुन्छन् । यी विचारले हामीलाई प्रेरित गर्छन् । जीवनमा अघि बढ्न हौसला र हिम्मत दिन्छन् । हामी पनि बिस्तारै उनीहरूजस्तै बन्दै गइरहेका हुन्छौ ।
गल्ती महसुस गर्ने, तनाव नलिने
गल्ती कसले गर्दैन र जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।
अर्काको नजरबाट आफूलाई नहेर्ने
धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो । अरुले ‘राम्रो भन्दा मख्ख पर्ने र ‘नराम्रो भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् ।
अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।
परिवर्तनसँग नडराउने
मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् ।
मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पु¥याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।
एक्लोपन महसुस नगर्ने
धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ ।
गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।
अर्काको सफलतामा रमाउने
सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ ।
आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।
अरुसँग तुलना नगर्ने
आफ्नो तुलना अर्को कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।
अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।
लक्ष्य निर्धारण
हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले देखाउँछ कि ३ प्रतिशत मानिसले मात्रै आफ्नो जीवनमा लक्ष्य निर्धारण गरेका हुन्छन् । त्यसलाई लेखेका हुन्छन् । लक्ष्य निर्माण जीवनलाई चिन्ने र आफ्नो जीवनको सही उद्देश्य बनाउन मद्दत गर्ने साधन हो । तपार्इंको लक्ष्य तपाईंको जीवनको सबैभन्दा ठूलो स्वउत्प्रेरण हो । यसले तपाईंलाई जीवनमा आइपर्ने ठूलो चुनौतीसँग लड्ने क्षमता विकास गरिदिन्छ ।
लड्दा एकचोटि फेरि उठेर प्रयास गर्ने हिम्मत दिन्छ । सफलता प्राप्त हुँदा त्यसलाई अझै मानिसहरू तथा समाजको भलाइका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने र सोच्न सक्ने विवेक प्रदान गर्छ । त्यसैले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नुहोस् ।
पूर्वीय समाजमा मानिसको भाग्य विधिले लेखिदिएको हुन्छ भन्ने कुरा मान्ने चलन छ । यही पश्चिमाहरू आफ्नो भाग्य आफैंले निर्धारण गर्नुपर्छ र मेहनत गरे जे पनि प्राप्त गर्न सक्न्छि भन्ने सिद्धान्तका साथ अघि बढे ।
आफूसँग सकारात्मक कुरा गर्नुहोस्
मानिसको सबैभन्दा ठूलो मित्र वा शत्रु ऊ आफै नै हो । हामी सबैभन्दा बढी आफैंसँग कुरा गर्छौ । त्यसैले तपाईं आफूसँग के कुरा गर्नुहुन्छ, त्यो अत्यन्तै महत्वपूर्ण हुन्छ । जब मानिस आफूसँग सकारात्मक कुरा गर्छ, ऊ ऊर्जावान् हुन्छ ।
जब मानिस हुँदैन, सकिंदैन, गाह्रो छ, म गर्न सक्दिनँ जस्ता नकारात्मक कुरा गर्छ तब ऊ निराश हुन्छ र जीवनको प्रेरणा पनि हराउन थाल्छ । त्यसैले जब तपाईं लक्ष्य निर्धारण गरी त्यसलाई प्राप्त गर्नका लागि काम गर्न सुरु गर्नुहुन्छ, कहिले पनि आफुसँग नकारात्मक कुरा नगर्नुहोस् । कुरा जति बढी दोहरिरहन्छ, त्यति नै त्यो शक्तिशाली बन्दै जान्छ ।
सकारात्मक कुरा जब शक्तिशाली हुन्छ, तब त्यो विश्वास बन्छ । जसले तपाईंलाई तपाईंको लक्ष्यको नजिक पुग्न मद्दत गर्छ । नकारात्मकताले तपाईंलाई लक्ष्यबाट टाढा पु¥याउने गर्छ ।
अध्ययन
जब तपाईं आफ्नो लक्ष्यसँग सम्बन्धित कुरा अध्ययन गर्न थाल्नुहुन्छ, त्यो अध्ययन पनि स्वउत्प्रेरणको माध्यम बन्दछ । त्यो अध्ययन तपाईंजस्तै लक्ष्य बोकेर सफल भएका मानिसको बारेमा हुन सक्छ तथा विभिन्न पुस्तकहरू, जुन अध्ययन गर्नाले तपाईंको लक्ष्य प्राप्तिको लागि सहयोग हुन सक्छ ।
बढीजसो आफ्नो समय यस्तो अध्ययनमा लगाउनुहोस्, न कि कसैको नकारात्मक टीका–टिप्पणीमा । यस्तो अध्ययनले तपाईंलाई विभिन्न किसिमको परिस्थितिमा कसरी आफूलाई अगाडि लिएर जान सकिन्छ, त्यसको ज्ञान प्राप्त हुन सक्छ ।
भनिन्छ नि, कि त मान्छेले परेर जान्दछ, कि त पढेर । त्यसैले सफल मानिसको जीवनी पढेर पनि हामी आफूले आफूलाई प्रेरित गर्न सकिरहेका हुन्छौं ।