निरन्तर मिहिनेतले अवश्य सफल हुनुहुनेछ

बुधबार, २ पौस २०८२

काठमाडौं – सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् ।

उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफूमा भएपछि मात्र आफूमा आत्मविश्वास बढ्ने हो ।

आफूमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आफूले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ । समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो ।

उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो । जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आफै आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो ।