उपत्यकामा एक साता निषेधाज्ञा थपियो

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं –काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले बताए ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो ।

प्रजिअहरुको बैठकले निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण कन्ट्रोल भएको निष्कर्ष निकालेका छन् ।