कोरोना संक्रमणबाट पूर्व प्रदेश प्रमुख मल्लको निधन
धनगढी – कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।
एक हप्ता पहिले कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको गएराती ११ बजे मृत्यु भएको परिवारले जनाएको छ ।
पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उनी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।
त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो ।