माधव नेपाललाई साथ दिने विज्ञप्ति जारी गरेलगत्तै गोकर्ण विष्टको नयाँ घोषणा
काठमाडौं –यस अघि माधव नेपाल पक्षबाट टाढिएका युवा नेता गोकर्ण विष्टले बुधबार माधव नेपाल समूहबाट संयुक्त विज्ञप्ति जारी गरेका थिए । तर उनै विष्टले एमाले फुटबाट जोगाउन अन्तिम प्रयास गर्ने बताएका छन् ।
विष्टले पछिल्लो समयमा शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन् । तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको नाम छ ।
‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’ उनले भनेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’