प्रधानमन्त्रीमाथि पक्राउ पुर्जी काट्न माग

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको माग गर्दै परेको रिटमाथि बह गर्दै त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर पुर्जी काट्न माग गरेका हुन ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा उनले भने, ‘पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

उनले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्ने प्रश्न गर्दै पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको जिकिर गरे । यसले कानूनी मान्यता पाउन नसक्ने समेत उनको जिकिर थियो ।

‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ रु पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’, उनले बहसका क्रममा भने ।