संसद विघटनका सबै रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनका सबै रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आज बस्ने संवैधानिक इजलासमा सबै रिटहरु पेस हुनेछन् ।

संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन् । जसमा ११ वटा रिटमा संवैधानिक इजलास मागिएको थियो । बाँकी १९ वटा रिटमा हिजो बिहीबार सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो एकल इजलासमा सुनुवाइ भएका १९ वटै रिटलाई संवैधानिक इजलासमा पठाएका थिए । यससँगै अब ३० वटै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।